KTS: तुह्याइएको मेरो सपनाको सम्झना!
KTS: तुह्याइएको मेरो सपनाको सम्झना!
हुनत यो नेपालकै जेठो प्राविधिक शिक्षालय हो र यस्कै अनुभवका आधारमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (CTEVT) को परिकल्पना गरिएको थियो! यस्को स्थापनाले जुम्ला लगायत कर्णाली क्षेत्रमा प्राविधिक जनशक्तीको विकास व्यापक भएको थियो! निर्माण देखि लिएर कृषि र स्वास्थ्य क्षेत्र जताततै समुदाय KTS द्वारा उत्पादित जनशक्ति कै बाहुल्यता थियो! उतिबेला स्थापना कालमा SLC मा उतिर्ण हुन नसक्नेलाई मात्रै भर्ना लिने नीति थियो! अहिलेको कथा अर्कै छ! त्यो शिक्षालय यति प्रभावकारी थियो कि SLC परिक्षाको नतिजा पछि धेरै मित्रहरुले उक्त शिक्षालयमा अध्ययन गरेपछि राम्रो रोजगार र व्यवसाय गरिरहनु भएको थियो! यसले समुदायमा आवश्यक प्राविधिक जनशक्तिको अभाव हुन दिएको थिएन!
आफुले अध्ययन गरेको विद्यालय नजिकै भएपनी मलाई त्यता जाने मौका मिलेको थिएन! कता कता अपाएक पर्ने! आफू सङै विद्यालयमा अध्ययन गरेका थुप्रै साथिहरु त्यहाँ अध्ययनरत भएपनी मलाई त्यतिबेला न उक्त स्थानमा जाने रहर जाग्यो नै कुनै मेसो मिल्यो! इन्जिनियरिङको अध्ययन सकेपछी मैले शुरु गरेको जुम्लाकै पहिलो काम 'कर्णाली विकास संयुक्त मंच' मार्फत ग्रामिण सामुदायिक पुर्वाधार विकास कार्यक्रम (RCIW) को प्राविधिक पक्ष हेर्ने गरेर जुम्लामा पुगेपछी मात्र त्यता जाने मेसो मिलेको थियो!
मेरो KTS सङको सम्झना यो भन्दा विल्कुल भिन्न विषयमा छ, त्यो के भने मैले इन्जिनियरिङको अध्ययन सक्काउने बित्तिकै KTS मा पढाउन आउने अग्रजहरुको अनुरोध र मेरो हौस्याइको असफलताको बारेमा!त्यति बेलासम्म KTS मा १८ महिने सब-ओभरसियर को पढाइ हुन्थ्यो! स्थानिय सकृय मित्रहरु र अग्रजहरु भने KTS लाई स्तरोन्नति गरेर Diploma in Civil Engineering (३ बर्षे) को पढाइ शुरु गर्ने र भविष्यमा उच्च शिक्षा दिने संस्थाको रुपमा विकास गर्ने सपनाका साथ कृयाशिल भैरहनु भएको थियो! मैले सिभिल इन्जिनियरिङ्गको पढाइ सकाउने बित्तिकै मलाई त्यता ल्याउन अनेक प्रयास गर्नुभयो! त्यस्तो प्रयास गर्नेमा Tekendra Thapa लगायत हुनुहुन्थ्यो! त्यो बेलामा CTEVT को उच्च पदाधिकारीलाई समेत कुरो गरिसकेर मलाई उता सम्पर्क गर्न भनेर खबर गर्नुभएको थियो! म पनि निकै हौसिएको थिएँ, तर मेरो पिताजी भने उति उत्साहित हुनुहुन्थेन! तर पनि आफ्नै ठाउँको लागि केही गर्न सके गरौं भनेर नाई भन्न चाहिँ सक्नुभएको थिएन! मलाई भने मनमनै अनेकौं योजना र भविष्यका सपनाले घेर्न थालेका थिए! मैले उतिबेला नै केही सपनाहरु लिखित रुपमै नोट बनाएर राखेको थिए, भलै कसैलाई देखाइन! समय आएमा देखाउने र त्यस्लाई साकारपार्ने अठोट बोकेर रोमान्चित भैरहेको थिए!
मेरा असल र हितकारी अग्रजको सल्लाहले उत्साहित हुँदै जब म उक्त उच्च पदाधिकारीलाई (नाम खुलाउन उपयुक्त नलागेकोले) भेट्न गए मेरो जोश जागर र उर्जा सब सेलायो! KTS मै जुम्ला र जुम्लीको आत्मियता सहित बसेर लामो समय विताएका उक्त पदाधिकारीले भने जुम्लीको बारेमा यति नकारात्मक कुरो गरे कि मैले सहन सकिन! म कुनै क्षमता नभएर जागिरको भिख माग्न गएको थिइन, मातृभुमिको सेवा गर्ने रहरले गएको थिए! मेरो सपना तुह्याइयो!
हुनत म जानु केही दिन अगाडि मात्रै जुम्लाकै एकजना शिक्षक (मेरा मित्र) ले KTS सङ सम्बन्धित कार्यक्रममा ठुलै लफडा गरेका रहेछन्! तर त्यसरी एकजना जुम्लाको कुनै व्यक्तिले त्यसो गर्यो भन्दैमा सारा जुम्लीलाई नै त्यसरी हेर्ने तिन्को दृष्टिकोणले मलाई असह्य बनायो! म त लौ त उसो भए विदा पाम भन्दै निस्किए! Tekendra Thapa सर (दाइ) ले पछि सम्म पनि अनेक प्रयास गर्नुभयो! तर मलाई उक्त घटनाले फेरी त्यो रहर कहिल्यै जाग्न दिएन!
जिन्दगीका सबै निर्णय आफुले चाहेर मात्रै नहुने रहेछन्! गरिएका न नगरिएका दुबै निर्णयले जिन्दगीलाई बदल्ने उत्तिकै क्षमता राख्ने रहेछन्!
अहिले Tekendra Thapa सर (दाइ) नै त्यहाँ Principle को रुपमा काम गर्दै समग्र कर्णालीको प्राविधिक शिक्षाको नेतृत्व गर्दै हुनुहुन्छ! तपाइँका सपना पूरा होउन्, शुभकामना!
Comments
Post a Comment