जोखिमसँगै हुर्किएको कर्णाली
जोखिमसँगै हुर्किएको कर्णाली हामीले विपद् सहन त सिक्यौँ, तर जोखिम बुझ्न कहिले सिक्यौँ? - माधब राज न्यौपाने वास्तवमा हामी विपद् र जोखिममै लडिबुडी गर्दै, लत्पतिँदै, जोगिँदै र फेरि उठ्दै आजसम्म आइपुगेका हौँ। कर्णालीमा जन्मे–हुर्केको मानिसका लागि जोखिम कुनै छुट्टै अध्याय थिएन। त्यो जीवनकै एउटा अनुच्छेद थियो। घर जोखिममा। आँगन जोखिममा। गोरेटो जोखिममा। खेत जोखिममा। विद्यालय जोखिममा। स्वास्थ्यचौकी जोखिममा। माथिको पाखो जोखिममा। तलको खोला जोखिममा। वर्षामा बाढीको डर। पहिरोको डर। चट्याङको डर। हिउँदमा पानीको चिन्ता। कहिले खडेरी, कहिले असिना, कहिले हिमपात। कतिपय ठाउँमा बाटो बन्द भयो भने बजारसँगको सम्बन्ध मात्र होइन, अस्पताल, प्रशासन र बाहिरी संसारसँगको सम्बन्धसमेत टुट्ने। त्यसैले कर्णालीका लागि जोखिम कुनै असाधारण घटना थिएन। जोखिमसँगै जीवन चल्थ्यो। तर आज पछाडि फर्केर हेर्दा एउटा प्रश्नले बारम्बार पछ्याउँछ— हामीले विपद् सहन त सिक्यौँ, तर जोखिम बुझ्न कहिले सिक्यौँ? म कर्णालीमा जन्मेर हुर्किएको मानिस हुँ। पछि विकासका विभिन्न कामको सिलसिलामा सुर्खेत, दैलेख, सिन्धुपाल्चोक, काभ्रे, धादिङ, नुवाकोट, ललि...