एक प्रकृति पुजकको विलाप

 एक प्रकृति पुजकको विलाप!

हे प्रकृति!
कति निर्दयी हुन सकेको?
किनारामा बस्न बाध्य को छ,
के तिमिलाई थाहा छैन र?
कोहि किन किनारामा धकेलिन्छ?
कोहि किन भिर पखेरामा अड्किन्छ ?
कोहि किन जोखिम भन्ने जान्दाजान्दै
जोखिममै जिन्दगी जिउँछ होला?
गाउँघरमा भिरपाखो र खोला किनार
सबैभन्दा काम नलाग्ने क्षेत्र,
त्यो भन्दा अन्त आफ्नो पाउ टेक्ने भुइँ छैन!
शहरमा आइयो,
नदी किनारमा बस्न बाध्य भैयो!
पानी नबग्ने तर ढल मात्रै होइन
सारा शहरको दिशा, दुर्गन्ध र व्याधी समेत
सहने गरेर हामीले के अभिसाप पाएका छौ?
बाहिरबाट हेर्नेले
नदीकिनारा कब्जा गरे भनिदिन्छन्!
होला
केहि नक्कली सुकुम्बासीले कब्जा गरे होलान्!
हामी त नक्कली सुकुम्बासी त के
सक्कली सुकुम्बासी पनि होइनौ! हामीलाई लागेको थियो,
यो देश नै हाम्रो हो!
यो सरकार नै हाम्रो हो!
देश र सरकार हुने पनि कहि सुकुम्बासी हुन्छ र?
देश र सरकार अविभावक बन्ला भन्ने हाम्रो आशा थियो!
सिंहदरबार नजिक पुगे हाम्रो सुनिएला भन्ने थियो!
त्यत्ति ठानेर
सबैले दुत्कारेको,
दुर्गन्ध बोकेको खोला छेउ बस्न आइपुगिएछ!
आफ्नो भन्नु जमीन कतै नभएपछि,
ज्यानधान्ने विशेष इलम र अवसर नभएपछि
एक मुट्ठी शास धान्न
शासै जाने वागमति छेउ बसियो!
आज सम्म सबै सरकार र समाजले समेत दुत्कारको छ!
समाज र सरकार अविभावक बन्ला भन्ने
ठुलो आश त थिएन,
तर प्रकृति तिम्रै भर थियो!
तिमी कसरी यति कठोर हुन सकेको?
हामीजस्ता केहि नहुनेको अब को छ त?
आँखा खोल्न सकिएको छैन,
कहालीलाग्छ!
दिमाग रन्थनिन्छ!
अत्यासलागेर मुटु भक्कानिन्छ!
सबै सहन विवश मान्छेलाई नै
अनेक विवशता हरु थपिने रहेछन!
हामी विपत्तीमा छौ,
तर उपदेश दिन शुरु भैसक्यो!
सरकार नियम कानुन बनाउने र लागु गर्ने भुमिकामा हुन्छ!
बिसौँ बर्ष बसेर
हाम्रो जीवनको सारा सर्वस्व
हामीले यहि नै मानेका छौ!
उहिलेका सरकारले
'मौनम् सम्मति लक्षणम्' भनेझैं
स्वीकृति दिएको मानियो!
प्रकृति तिमिले पनि
उस्तो अस्वीकृति दिने केहि काम गरिनौ!
अब अहिले आएर के बित्यो?
हुनत तिम्रा आफ्नै गुनासा होलान!
म मान्छु!
न अहिले प्रकृतिलाई कसैले पवित्र मान्छ,
न कसैले प्रकृति पुजा गर्छ,
न त प्रकृतिको सङरक्षण गर्छ!
तिमि रिसाउनु ठिकै होला!
तर हामीसङ किन रिसाएको?
हामी त प्रकृति पुजक!
सहनु,
सहेको खेर जादैन भन्थे!
अब कति सहनुपर्ने हो?
कसैको कुभलो नगर्नु भन्थे!
जानीजानी जीवनमा कसैको कुभलो गरिएन!
हामीलाई नखाएको विष किन लागेको?
हर्षको पर्व दशै मुखमा आएको छ!
दशै अघि दसा किन दिएको बनेको?
तिमी यति कठोर किन बनेको?
हामीलाई यति असहाय किन बनाएको?
हुनत
संसार विज्ञान विज्ञान भनेर पछि कुदेको छ!
हाम्रै देश पनि विकास विकास भनेर पछि कुदेको छ!
न विकास न विज्ञान
कसैले पनि प्रकृतिबारे सोचेको छैन!
धनीहरु बरु चन्द्रमा र मङ्गल मा
बस्ती बनाउन तयार!
प्रकृतिसापेक्ष पृथ्वी बनाउन तयार छैनन!
तिनिहरुलाई लागेको होला
पृथ्वी ध्वस्त हुने बेला हामी मङ्गलमा गैसेका हुनेछौ!
तर तिनिहरुलाई थाहा छैन त्यहा पनि प्रकृति नै छ!
बस मानव अनुकुल छैन!
विज्ञानले मानव अनुकुल बनाउन सकिन्छ!
त्यसका लागि बरु पृथ्वी नै किन बिनाश नहोस!
तर त्यसमा मेरो गल्ति के छ प्रकृति?
न मेरो त्यसमा कुनै ज्ञान छ न कुनै योगदान!
तिमीलाई केहि ढिठहरुले दिएको चुनौतिको सजाय
हामीलाई किन दिन्छौ?
भो अब तिम्रो रिस पुग्यो,
हाम्रो रक्षा गर!
उहि तिम्रो प्रकृति पुजक!













Creator: Gopen Rai Credit: AP

Comments

Popular posts from this blog

Spatial Planning Practices in Nepal – A Rural and Regional Perspective

जन्मदिन !!!