मेरो बाल्यकाल र लाप्को !
मेरो बाल्यकाल र लाप्को !
गैरागाउँ—मेरो बाल्यकालको आधारभूमि।
चन्दननाथ मावि—जहाँ मैले जीवनका बारेमा केहि चिने र
माध्यमिक तहमा पढाई गरे।
तर यी दुईलाई जोड्ने बाटो केवल जमिनको यात्रा थिएन;
त्यो मेरो मन, भाव, डर र संकल्पको यात्रा पनि थियो।
र यस यात्रा बीचमा थियो—लाप्को।
जुम्ली भाषामा ‘लाप्को’ भनिने यो अस्थायी काठको पुल,
जसले तिलानदीको छालसँग जुध्दै
गैरागाउँ र महतगाउँलाई जोडी राख्थ्यो।
मलाई अझै सम्झना छ—लामो काठको दुई ठुट्ठा,
जसलाई बिचबिचमा ठूल्ठूला गोल ढुंगाहरूले अड्याइएको हुन्थ्यो।
यो संरचना देख्दा नै डर लाग्थ्यो।
पानीको बहावको आवाजसँगै लाप्को पनि
अलिकति झनक्क चलायमान हुन्थ्यो।
त्यही भएर मेरी आमाको अर्ती जीवनभर स्मरणीय बन्यो—
“बरु अलिक ढिलो होस्, लाप्कोबाट नजानु!”
सिंहदरबारको आदेशभन्दा पनि
ती शब्दहरूको तागत बढी थियो मेरो बाल्यकालमा।
त्यही भएर एसएलसी पास नगरेसम्म
कहिल्यै त्यो लाप्कोबाट स्कुल वा बजार गइनँ।
छिनासाघुको लामो बाटो समाउने गर्थें—
एक्लो, सुनसान, कहिले काँही डर लाग्दो।
तर समयमै विद्यालय
त्यो यात्रा त सार्थक लाग्थ्यो।
पिताजीसँग कहिलेकाहीं जाँदा भने
लाप्को पार गर्थें।
त्यो साथले डर आधा हुन्थ्यो।
तर लाप्को एक्लै हिंडेको अनुभव चाहिँ
एसएलसी पास गरेर काठमाडौं गइसकेपछि,
आईएस्सी दोस्रो वर्षको बिदामा गाऊँ फर्किंदा
मात्रै भयो।
त्यो बेला म साह्रै भावुक थिएँ—
नदीले बगाउँदै ल्याएको सम्झनाहरू
लाप्कोको हरेक चिरामा अड्केका थिए।
तर लाप्कोको भुमिका
मेरो बाल्यकालका यात्रासम्म सीमित थिएन।
यसले गैरागाउँ र महतगाउँको सम्बन्धलाई पनि
बलियो बनाएको थियो।
फागुनदेखि जेठसम्म, महतगाउँका मान्छेहरूले
दाउरा, घाँस, पिरल र सोत्तर ल्याउन
हाम्रो गाउँको जंगल ओहोरदोहोर गर्ने गर्दथे।
लाप्कोले त्यो यात्रा सहज बनाइदिएको थियो।
यो केवल काठको अस्थायी पुल थिएन—
यो सम्बन्धको, श्रमको, र आवश्यकता र
भरोसाको पुल को पनि भुमिका थियो!
कुनै बेला,
यही स्थानमा झोलुङ्गे पुल बनाउने प्रस्ताव आएको थियो रे।
तर बनजङ्गलको असिमित दोहन र
सम्भावित झगडाको डरले
त्यो योजना सारियो।
समय सङै महतगाउँ र गैरागाउँमा
विहेवारी चल्न थाल्यो!
त्यसपछि भने केहि गाउलेलाई
त्यो अस्थाई पुलको साटो
पक्कीपुल नै भैदिए
कति सजिलो हुदो हो
भन्ने लाग्न थालेछ!
कतिले त मलाई नै यहि भनेका थिए!
तर त्यहा आजसम्म
पक्कि पुल भने बनेको छैन!
लाप्को नै लागिरहन्छ केहि समयको लागि!
यो कथाले मलाई एउटा ठूलो पाठ सिकायो—
पूर्वाधार विकास केवल भौतिक निर्माण हैन,
यो सामाजिक सन्तुलन र सामुदायिक सम्बन्धको
सूक्ष्म गणित पनि हो।
आज त्यो लाप्को फेरिएको होला,
तर मेरो सम्झनामा अझै उस्तै छ—
काठका दुई ठूला ठुट्ठा,
तिलानदीको छालमा टेकेर उभिएको,
डर र भरोसाबीचको एउटा जीवन्त प्रतीक।
र सधैं मेरो कानमा गुन्जिरहन्छ—
“बरु अलिक ढिलो होस्, लाप्कोबाट नजानु!”
साँच्चै,
आमाको त्यो अर्ती आज पनि
जीवनका हरेक निर्णयमा मार्गदर्शन बनिरहेको छ।
Comments
Post a Comment