जोखिमसँगै हुर्किएको कर्णाली
जोखिमसँगै हुर्किएको कर्णाली
हामीले विपद् सहन त सिक्यौँ, तर जोखिम बुझ्न कहिले सिक्यौँ?
- माधब राज न्यौपाने
वास्तवमा हामी
विपद्
र
जोखिममै लडिबुडी गर्दै,
लत्पतिँदै, जोगिँदै
र फेरि उठ्दै
आजसम्म आइपुगेका हौँ।
कर्णालीमा जन्मे–हुर्केको मानिसका लागि जोखिम कुनै छुट्टै अध्याय थिएन।
त्यो जीवनकै एउटा अनुच्छेद थियो।
घर जोखिममा।
आँगन जोखिममा।
गोरेटो जोखिममा।
खेत जोखिममा।
विद्यालय जोखिममा।
स्वास्थ्यचौकी जोखिममा।
माथिको पाखो जोखिममा।
तलको खोला जोखिममा।
वर्षामा बाढीको डर।
पहिरोको डर।
चट्याङको डर।
हिउँदमा पानीको चिन्ता।
कहिले खडेरी,
कहिले असिना,
कहिले हिमपात।
कतिपय ठाउँमा बाटो बन्द भयो भने बजारसँगको सम्बन्ध मात्र होइन, अस्पताल, प्रशासन र बाहिरी संसारसँगको सम्बन्धसमेत टुट्ने।
त्यसैले कर्णालीका लागि जोखिम कुनै असाधारण घटना थिएन।
जोखिमसँगै जीवन चल्थ्यो।
तर आज पछाडि फर्केर हेर्दा एउटा प्रश्नले बारम्बार पछ्याउँछ—
हामीले विपद् सहन त सिक्यौँ, तर जोखिम बुझ्न कहिले सिक्यौँ?
म कर्णालीमा जन्मेर हुर्किएको मानिस हुँ। पछि विकासका विभिन्न कामको सिलसिलामा सुर्खेत, दैलेख, सिन्धुपाल्चोक, काभ्रे, धादिङ, नुवाकोट, ललितपुर र कपिलवस्तुसम्मका भूगोल र समुदायसँग जोडिने अवसर पनि पाएँ। जीवनको एउटा चरणमा जोखिम मेरो आफ्नै अनुभव थियो। अर्को चरणमा त्यही जोखिमलाई विकास, पूर्वाधार, योजना र समुदायको आँखाबाट हेर्नुपर्ने भयो।
त्यसपछि एउटा कुरा अझ स्पष्ट हुँदै गयो—
जोखिम प्रकृतिमा मात्र हुँदैन।
हामीले विकास गर्ने तरिकाभित्र पनि जोखिम हुन्छ।
जोखिम असाधारण घटना थिएन, जीवनको सामान्य अवस्था थियो
आज हामी विपद् जोखिम न्यूनीकरणको भाषामा खतरा, त्यसको प्रभावमा पर्न सक्ने मानिस र पूर्वाधार, संवेदनशीलता, सामना गर्ने क्षमता र जोखिमको कुरा गर्छौँ।
तर गाउँको किसानले यी शब्द प्रयोग गर्दैनथ्यो।
उसले यति मात्र भन्थ्यो—
“त्यो धारमा घर नबनाऊ, पानी पुरानो बाटो खोजेर आउँछ।”
कुनै वृद्धले भन्थे—
“त्यो पाखो वर्षामा बस्दैन।”
कुनै आमाले बच्चालाई सम्झाउँथिन्—
“बादल यस्तो आयो भने खोलामा नजानू।”
यो वैज्ञानिक भाषामा लेखिएको जोखिम मूल्याङ्कन थिएन।
तर यो जोखिमको ज्ञान थियो।
सायद विज्ञानले यसको नयाँ भाषा बनायो।
तर प्रश्न पुरानो नै थियो—
कहाँ बस्ने? कसरी बस्ने? र कहिले सुरक्षित ठाउँतिर सर्ने?
नेपालको आधिकारिक जोखिम प्रोफाइलले पनि पहिरोको जोखिममा भिरालो भूभाग, कमजोर भूगर्भीय अवस्था र वर्षा जस्ता प्राकृतिक कारणसँगै वन विनाश, अव्यवस्थित भू–उपयोग, जोखिमयुक्त ठाउँमा बसोबास तथा पर्याप्त सुरक्षा उपायबिना गरिएका विकास निर्माणको भूमिका औँल्याएको छ।
अर्थात् अहिले हामी जुन कुरा वैज्ञानिक भाषामा व्याख्या गर्छौँ, त्यसका केही अंश स्थानीय समुदायले आफ्नो अनुभव, स्मृति र अभ्यासबाट धेरै पहिले नै बुझ्दै आएका थिए।
हुम्लाले धेरै पहिल्यै चेतावनी दिएको रहेछ
दक्षिणी हुम्लाको एउटा जोखिम मूल्याङ्कन प्रतिवेदन अहिले फेरि पढ्दा झन् अर्थपूर्ण लाग्छ।
सन् २००९ मा गरिएको अध्ययनमा दक्षिणी हुम्लाका ३१ गाउँ र ६ तत्कालीन गाविसका जोखिम तथा संवेदनशीलता अध्ययन गरिएको थियो। ३७६ घरधुरी समेटिएको त्यस अध्ययनले स्थानीय मानिसकै सहभागितामा जोखिम पहिचान र नक्साङ्कन गर्ने प्रयास गरेको थियो।
त्यो प्रतिवेदनको एउटा गहिरो पक्ष थियो—“लुकेका विपद्”।
सन् १९६० देखि २००९ सम्म अध्ययन गरिएका क्षेत्रमा समुदायहरूले १४८ वटा विपद् घटना सम्झेर अभिलेख गरेका थिए। तीमध्ये धेरै घटना औपचारिक सरकारी अभिलेखमा नआएको हुन सक्ने अध्ययनले देखाएको थियो।
यहाँ एउटा असहज प्रश्न उठ्छ—
हामीले विगतमा विपद् कम भोगेका थियौँ कि विपद्को पूरा अभिलेख नै राखेका थिएनौँ?
यी दुई कुरा एउटै होइनन्।
गाउँको एउटा खेत पहिरोले लग्यो।
कुनै पशु म¥यो।
घरको केही भाग भत्कियो।
खोलाले पुल बगायो।
बाटो केही दिन बन्द भयो।
कुनै रोगले परिवार थला पार्यो।
यी घटना काठमाडौँको ठूलो तथ्यांकमा नदेखिन सक्छन्।
तर गाउँको जीवनमा ती विपद् नै हुन्।
त्यसैले तथ्यांकमा नदेखिएको क्षति पनि क्षति नै हो।
सायद विपद् जोखिमको पहिलो सुधार नै यहीँबाट सुरु हुन्छ—
जोखिमलाई देख्नुअघि जोखिमको तथ्यांक देखिनुपर्छ।
विपद् ठूलो घटना मात्र होइन
हामी विपद् भन्नासाथ ठूलो पहिरो, ठूलो बाढी, भूकम्प वा धेरै मानिसको मृत्यु सम्झन्छौँ।
तर कर्णालीको वास्तविकता अलि फरक छ।
कहिलेकाहीँ विपद् एउटा खेत हराउनु हो।
कहिलेकाहीँ पशुधन गुमाउनु हो।
कहिलेकाहीँ पानीको स्रोत बिग्रिनु हो।
कहिलेकाहीँ सडक दुई हप्ता बन्द हुनु हो।
कहिलेकाहीँ औषधि नपुग्नु हो।
कहिलेकाहीँ बच्चा विद्यालय पुग्न नसक्नु हो।
र यस्ता “सानो” भनिएका क्षति वर्षौँसम्म दोहोरिँदा परिवारको सम्पत्ति, खाद्य सुरक्षा र जीविकामाथि ठूलो असर पर्न सक्छ।
त्यसैले कर्णालीमा विपद्को असर “कति मानिस मरे?” भनेर मात्र मापन गरेर पुग्दैन।
अर्को प्रश्न पनि चाहिन्छ—
कति परिवारले आफ्नो जीवन फेरि पहिलेको अवस्थामा फर्काउन सकेनन्?
दक्षिणी हुम्लाको अध्ययनले पनि जोखिमलाई जीवन, जीविका, स्वास्थ्य, पूर्वाधार र सामाजिक अवस्थासँग जोडेर हेर्नुपर्ने आवश्यकता देखाएको थियो।
स्थानीय मानिस जोखिमबाट अनभिज्ञ थिएनन्
यो कुरा पनि बिर्सनु हुँदैन।
स्थानीय मानिस आफ्नै भूगोलबारे अज्ञानी थिए भन्ने धारणा आफैँमा एउटा गलत दृष्टिकोण हो।
उनीहरूलाई धेरै कुरा थाहा थियो।
कहाँ पहिरो जान्छ।
कुन पाखो कमजोर छ।
कुन खोलो कहिले बढ्छ।
कुन मौसममा कुन बाटो बन्द हुन्छ।
कहाँ पानीको अभाव पर्छ।
कुन ठाउँमा घर राख्नु हुँदैन।
तर ज्ञान हुनु र जोखिमबाट बाहिर निस्कन सक्नु एउटै कुरा होइन।
यदि सुरक्षित जमिन छैन भने?
यदि खेती त्यहीँ छ भने?
यदि दाउराको विकल्प छैन भने?
यदि सडक त्यहीँबाट जान्छ भने?
यदि बाहिरिने अर्को बाटो छैन भने?
त्यसैले जोखिम केवल ज्ञानको समस्या होइन।
यो गरिबी, विकल्पको अभाव, पहुँच, शक्ति र जीविकासँग पनि जोडिएको समस्या हो।
यही कारणले जोखिम घटाउने काममा “मानिसलाई सचेत बनाउने” मात्रै पर्याप्त हुँदैन।
मानिससँग सुरक्षित विकल्प पनि हुनुपर्छ।
स्थानीय ज्ञानलाई देवत्वकरण गर्नु पनि गलत हुन्छ
हाम्रा पुर्खाले सबै कुरा जानेका थिए भन्नु पनि गलत।
उनीहरूसँग भूकम्प नाप्ने उपकरण थिएन।
वर्षाको तीव्रता नाप्ने स्वचालित केन्द्र थिएन।
भूगर्भीय विस्तृत नक्सा थिएन।
उपग्रह चित्र थिएन।
ढलान स्थिरताको वैज्ञानिक गणना थिएन।
त्यसैले परम्परागत ज्ञान आधुनिक विज्ञानको विकल्प होइन।
तर आधुनिक विज्ञान आयो भनेर पुरानो ज्ञानलाई अन्धविश्वास भन्दै फालिदिनु पनि त्यत्तिकै गलत हो।
हामीलाई तेस्रो बाटो चाहिन्छ—
पुर्खाको अनुभव + स्थानीय स्मृति + वैज्ञानिक प्रमाण + इन्जिनियरिङ + स्थानिक योजना + समुदायको निर्णय।
दक्षिणी हुम्लामा सहभागी जोखिम नक्साङ्कनको अभ्यासले एउटा कुरा देखाइसकेको थियो—जोखिम बुझ्ने पहिलो काम समुदायको आवाज सुन्ने हो।
“दैवीप्रकोप” पनि एउटा ऐतिहासिक भाषा थियो
हामी अहिले “दैवीप्रकोप” शब्द सुन्दा अन्धविश्वास सम्झन्छौँ।
तर आफ्नै समयको समाजलाई आजको विज्ञानको चश्माले मात्र हेर्नु पनि न्यायपूर्ण हुँदैन।
जब मानिससँग आधुनिक भूगर्भशास्त्र, जलविज्ञान वा मौसम विज्ञान थिएन, तब प्रकृतिको अनिश्चिततालाई धार्मिक भाषामा बुझ्नु अस्वाभाविक थिएन।
समस्या त्यहाँ सुरु हुन्छ जहाँ—
दैव → नियति → केही गर्न सकिँदैन
भन्ने सोच बन्छ।
तर दक्षिणी हुम्लाको पुरानो अध्ययनमा रोचक कुरा के देखिन्छ भने मानिसहरूमा यस्तो नियतिवादी विश्वास हुँदाहुँदै पनि कतिपय ठाउँमा समुदायले आफ्नै तहमा जोखिम घटाउने प्रयास गरिरहेका थिए।
अर्थात् मानिसभित्र दुई कुरा एकैचोटि थिए—
प्रकृतिप्रतिको डर पनि।
आफूले केही गर्न सकिन्छ भन्ने चेतना पनि।
आधुनिक विपद् व्यवस्थापनको काम त्यही दोस्रो चेतनालाई बलियो बनाउनु हो।
पुरानो बस्ती केवल पुरानो थिएन
कर्णालीका पुराना बस्तीलाई आजको आँखाले हेर्दा हामीले प्रायः एउटै शब्द प्रयोग गर्छौँ—
“अविकसित।”
तर त्यो पर्याप्त व्याख्या होइन।
पुरानो बस्तीको आफ्नै स्थानिक तर्क थियो।
कहाँ घर राख्ने?
कहाँ खेती गर्ने?
कहाँ पानी राख्ने?
गोठ कहाँ बनाउने?
चिसोबाट कसरी जोगिने?
सामूहिक जीवन कसरी चलाउने?
यी प्रश्नहरूको उत्तर बस्तीको स्वरूपभित्र लुकेको थियो।
चन्दननाथ र मार्तडीसम्बन्धी हाम्रो अध्ययनले पनि परम्परागत हिमाली बस्तीका घर, छाना, जोडिएका संरचना, सामुदायिक स्थान तथा सडकपछिको बस्ती रूपान्तरणलाई विश्लेषण गरेको छ। अध्ययनले २००० देखि २०२० सम्म यातायात, आर्थिक परिवर्तन, स्थानीय शासन र सामाजिक–पर्यावरणीय परिवर्तनसँगै बस्तीको स्वरूप कसरी बदलियो भन्ने देखाउँछ।
अर्थात्—
बस्ती केवल घरहरूको समूह होइन।
त्यो भूगोलसँगको सामाजिक सम्झौता हो।
पुरानो बस्ती कहिलेकाहीँ नयाँ बस्तीभन्दा बढी “बुद्धिमान” थियो
पुरानो बस्तीमा स्मार्ट सहरको बोर्ड थिएन।
मोबाइल थिएन।
भौगोलिक सूचना प्रणाली थिएन।
कृत्रिम बुद्धिमत्ता थिएन।
तर भूगोल बुझ्ने एउटा मौन बुद्धि थियो।
पुरानो बस्ती प्रविधिले बुद्धिमान थिएन।
अनुभवले बुद्धिमान थियो।
घरहरू कहाँ राख्ने भन्ने निर्णयमा चिसो, पानी, खेती, सामुदायिक सम्बन्ध र उपलब्ध सामग्रीको लामो अनुभव जोडिएको थियो।
तर त्यसको अर्थ नयाँ बस्ती गलत हो भन्ने होइन।
जीवन बदलिएको छ।
अर्थतन्त्र बदलिएको छ।
आकांक्षा बदलिएको छ।
सडक आएको छ।
बजार आएको छ।
त्यसैले बस्ती पनि बदलिनैपर्छ।
तर प्रश्न परिवर्तनको होइन।
परिवर्तनको दिशाको हो।
सडक आयो—तर जोखिम पनि आयो
कर्णालीका मानिसले दशकौँसम्म भने—
“सडक चाहियो।”
ठीकै थियो।
अझै पनि चाहिन्छ।
सडकले बजार जोड्छ।
अस्पताल जोड्छ।
विद्यालय जोड्छ।
उत्पादन जोड्छ।
राज्यसँगको सम्बन्ध जोड्छ।
त्यसैले सडकको मागलाई विकासविरोधी आँखाले हेर्नु गलत हुन्छ।
तर सडक चाहिन्छ भन्ने कुरा र सडक जसरी बनाए पनि हुन्छ भन्ने कुरा एउटै होइन।
प्रश्न हो—
कस्तो सडक? कहाँबाट? कुन ढलानमा? कुन भूगर्भमा? कुन पानी निकाससहित? काटिएको माटो कहाँ राख्ने? भोलि कसरी मर्मत गर्ने?
पहाडमा सडक केवल यातायातको रेखा होइन।
त्यो एउटा भू–आकृतिक हस्तक्षेप पनि हो।
पहाड काट्छ।
पानीको बहाव बदल्न सक्छ।
ढलानको सन्तुलन बदल्न सक्छ।
नयाँ बस्ती तान्न सक्छ।
त्यसैले सडकले अवसर ल्याउँदा जोखिम पनि पुनःव्यवस्थित गर्न सक्छ।
“डोजर इन्जिनियरिङ” विकासको अर्को अनुहार
डोजर दोषी होइन।
डोजर एउटा साधन हो।
तर भूगोल नबुझी, पानी नबुझी, ढलान नबुझी केवल बाटो खोल्ने हो भने त्यही साधनले जोखिम पनि सिर्जना गर्न सक्छ।
नेपालका ग्रामीण सडकबारे विश्व बैंकको अध्ययनले कमजोर इन्जिनियरिङ, हचुवामा सडकको ट्रयाक खोल्ने अभ्यास, पर्याप्त डिजाइनको अभाव र कमजोर मर्मतलाई पहिरोको जोखिमसँग जोडेको छ। सन् २००८ यता अध्ययन गरिएका २०५ पहिरोमध्ये १७९ अर्थात् करिब ८७ प्रतिशत कमजोर इन्जिनियरिङ भएका सडक निर्माणबाट उत्प्रेरित भएको अनुभवसमेत दस्तावेजमा उल्लेख छ।
त्यसैले प्रश्न सडकविरोधी होइन।
प्रश्न असुरक्षित सडक विकासविरोधी हो।
र फेरि एउटा असहज प्रश्न—
पहिले पाखोले मानिसलाई जोखिममा राख्थ्यो।
अब मानिसले पाखोलाई जोखिममा राखिरहेको त छैन?
बस्ती फेरियो—जोखिमको भूगोल पनि फेरियो
मैले पहिले कर्णालीका बस्ती परिवर्तनबारे लेख्दा एउटा कुरा देखाउन खोजेको थिएँ—बस्ती स्थिर हुँदैन।
त्यो इतिहाससँग बदलिन्छ।
सडकसँग बदलिन्छ।
बजारसँग बदलिन्छ।
राज्यसँगको सम्बन्धसँग बदलिन्छ।
आज त्यसैलाई अर्को आँखाले हेर्दा प्रश्न थपिन्छ—
बस्ती बदलिँदा जोखिम पनि बदलिन्छ।
सडकछेउ विस्तार हुँदा कृषि भूमि घट्न सक्छ।
नयाँ घर बढ्दा पानीको प्राकृतिक निकास बन्द हुन सक्छ।
पहाड काट्दा ढलान अस्थिर हुन सक्छ।
बजार केन्द्रित हुँदा मानिस जोखिमयुक्त ठाउँमै अझ धेरै केन्द्रित हुन सक्छन्।
अर्थात् विकासले जोखिम हटाउन पनि सक्छ।
नयाँ जोखिम सिर्जना पनि गर्न सक्छ।
यही कारण बस्ती योजना भनेको घरको नक्सा मात्र होइन।
त्यो भूमि, पानी, ढलान, सडक, जीविका, वातावरण र सामाजिक सम्बन्धको योजना हो।
भोटेकोशीले अहिले फेरि हामीलाई सम्झायो
कर्णालीभन्दा बाहिरको घटना भए पनि अहिलेको भोटेकोशी विपद्लाई यस बहसबाट छुट्याउन मिल्दैन।
२६ अगस्ट २०२६ मा आएको भीषण भोटेकोशी बाढीले ठूलो मानवीय क्षति र विस्थापनसँगै रसुवा, नुवाकोट, धादिङलगायत नदीको बहावसँग जोडिएका क्षेत्रमा घर, भवन, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य महत्त्वपूर्ण पूर्वाधारमा व्यापक क्षति पुर्याएको सरकारी विवरण छ। सेप्टेम्बर १० सम्म पनि खोज तथा उद्धार जारी थियो।
भोटेकोशी कर्णाली होइन।
भूगोल फरक छ।
जलाधार फरक छ।
बस्तीको इतिहास फरक छ।
तर भोटेकोशीले उठाएको प्रश्न कर्णालीका प्रश्नभन्दा धेरै टाढा छैन।
नदी कहाँ बग्छ?
पुरानो बहाव क्षेत्र कहाँ हो?
बस्ती कहाँ बस्छ?
सडक कहाँबाट जान्छ?
पुल कहाँ राखिन्छ?
जलविद्युत् आयोजना कहाँ बन्छ?
एउटा संरचना बिग्रँदा कति अरू संरचना प्रभावित हुन्छन्?
कुन सडक बन्द हुँदा कति गाउँ अलग हुन्छन्?
कुन पुल बग्दा अस्पतालको पहुँच रोकिन्छ?
यी केवल भोटेकोशीका प्रश्न होइनन्।
यी कर्णालीका पनि प्रश्न हुन्।
नदीमा आएको विपद् नदीमा मात्र सीमित हुँदैन
हामी नदीलाई प्रायः पानी बग्ने ठाउँ भनेर हेर्छौँ।
तर नदी केवल पानी होइन।
त्यसको माथिल्लो जलाधार हुन्छ।
जलाधारसँग पहाड हुन्छ।
पहाडसँग ढलान हुन्छ।
ढलानसँग सडक हुन्छ।
सडकसँग बस्ती जोडिन्छ।
बस्तीमा घर हुन्छन्।
घरभित्र मानिस हुन्छन्।
किनारमा पुल हुन्छ।
त्यसमाथि जलविद्युत् आयोजना हुन सक्छ।
तल बजार हुन सक्छ।
अर्थात् नदीमा आएको विपद् नदीको किनारमा मात्र सीमित रहँदैन।
नदीको विपद् वास्तवमा नदीसँग जोडिएको विकास प्रणालीको विपद् बन्न सक्छ।
भोटेकोशीले यही पाठ फेरि सतहमा ल्याएको छ।
बाढीपछि पहिरो आउन सक्छ।
पहिरोपछि सडक बन्द हुन सक्छ।
सडक बन्द भएपछि उद्धार रोकिन सक्छ।
उद्धार ढिलो भएपछि मानवीय क्षति बढ्न सक्छ।
बजार बन्द भएपछि जीविका प्रभावित हुन सक्छ।
ऊर्जा संरचना क्षतिग्रस्त भएपछि त्यसको प्रभाव अझ टाढासम्म जान सक्छ।
त्यसैले अब एउटै खतरा मात्र हेर्ने योजना पर्याप्त हुँदैन।
हामीले खतराहरूबीचको सम्बन्ध बुझ्नुपर्छ।
पूर्वाधार बलियो हुनु र सुरक्षित हुनु एउटै कुरा होइन
हामी प्रायः पूर्वाधारलाई सुरक्षा र विकासको प्रतीक मान्छौँ।
सडक भयो।
पुल भयो।
जलविद्युत् आयो।
ठूला भवन बने।
त्यसपछि विकास भयो भन्ने ठान्छौँ।
तर भोटेकोशीले अर्को कुरा पनि सम्झायो—
पूर्वाधार बलियो हुनु र पूर्वाधार सुरक्षित हुनु एउटै कुरा होइन।
बलियो पुल चाहिन्छ।
तर पुल बनाइएको नदी बुझ्नुपर्छ।
बलियो सडक चाहिन्छ।
तर सडकले काटेको पहाड बुझ्नुपर्छ।
ठूलो जलविद्युत् आयोजना चाहिन्छ।
तर त्यसको जलाधार, बहाव र आकस्मिक जोखिम बुझ्नुपर्छ।
बस्ती चाहिन्छ।
तर बस्ती बसेको जमिनको स्वभाव बुझ्नुपर्छ।
त्यसैले विकासलाई केवल संरचनाको बलबाट होइन, सम्पूर्ण भू–प्रणालीसँगको सम्बन्धबाट मूल्याङ्कन गर्नुपर्ने बेला आएको छ।
हुम्लाको तिल गाउँदेखि भोटेकोशीसम्म
यो परिवर्तनलाई हुम्लाको तिल गाउँको पछिल्लो घटनाले पनि अर्को कोणबाट देखाउँछ।
२०२६ मा नाम्खा गाउँपालिका–६ को तिल गाउँमा तिलजुङ खोलामा अचानक आएको बाढीका कारण गाउँलेहरू घर छाडेर सुरक्षित ठाउँतिर सर्नुपरेको थियो। स्थानीय विवरणअनुसार वरिपरि ठूलो वर्षा नभएको समयमा समेत अचानक बाढी आएको थियो।
दक्षिणी हुम्लाको २०१० को जोखिम अध्ययनले हिमाली क्षेत्रमा अचानक आउने बाढी तथा हिमतालसँग सम्बन्धित जोखिमबारे त्यतिबेलै चिन्ता व्यक्त गरेको थियो।
त्यसैले एउटा रोचक निरन्तरता देखिन्छ।
जोखिम नयाँ होइन।
तर जोखिमको स्वरूप बदलिँदैछ।
हिजोको अनुभवले भोलिको प्रत्येक जोखिम बताउँछ भन्ने छैन।
जलवायु बदलिन्छ।
हिमाली प्रणाली बदलिन्छ।
पानीको व्यवहार बदलिन्छ।
बस्ती बदलिन्छ।
पूर्वाधार बदलिन्छ।
त्यसैले जोखिमको ज्ञान पनि बदलिनुपर्छ।
जलवायु परिवर्तनले पुरानो अनुभवलाई पनि चुनौती दिइरहेको छ
हामीले परम्परागत ज्ञान जोगाउनुपर्छ।
तर त्यसैलाई अन्तिम सत्य मान्न मिल्दैन।
कर्णाली र सुदूरपश्चिममा गरिएको पछिल्लो अध्ययनले किसानहरूले तापक्रम वृद्धि, अनियमित वर्षा र पानीको उपलब्धतामा परिवर्तन अनुभव गरिरहेको देखाएको छ। कृषि उत्पादनमा यसको असर परेको र स्थानीय अनुकूलनसँगै ज्ञान तथा स्रोतको कमी अझै चुनौती रहेको पनि अध्ययनले देखाउँछ।
हिजोको मौसम।
हिजोको नदी।
हिजोको खेती।
हिजोको बस्ती।
यी सबै स्थिर छैनन्।
त्यसैले “पुर्खाले यसै गर्थे, हामी पनि त्यसै गरौँ” मात्रै समाधान होइन।
हामीले भन्नुपर्छ—
पुर्खाले के सिकाए?
अहिलेको भूगोलले के भनिरहेको छ?
र विज्ञानले के देखाइरहेको छ?
तीनवटैलाई एउटै ठाउँमा राखेर निर्णय गर्नुपर्छ।
जोखिम सबैका लागि समान हुँदैन
एउटै पहिरोले दुई परिवारलाई समान असर गर्दैन।
एउटासँग अर्को घर हुन सक्छ।
अर्कोसँग नहुन सक्छ।
एउटासँग बचत हुन सक्छ।
अर्को ऋणमा हुन सक्छ।
एउटा व्यक्ति सजिलै भाग्न सक्छ।
अर्कोलाई हिँड्नै कठिन हुन सक्छ।
बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका मानिस, महिला, एकल अभिभावक वा अत्यन्त गरिब परिवारको जोखिम एउटै हुँदैन।
दक्षिणी हुम्लाको जोखिम मूल्याङ्कनले पनि घरधुरी र सामाजिक समूहअनुसार संवेदनशीलता फरक रहेको देखाएको थियो।
त्यसैले “गाउँ जोखिममा छ” भन्नु मात्र पर्याप्त होइन।
सोध्नुपर्छ—
गाउँभित्र को सबैभन्दा बढी जोखिममा छ?
विपद् जोखिम व्यवस्थापन त्यहीँबाट मानवीय हुन्छ।
जोखिमको अर्को अनुहार—सम्पर्क टुट्नु
कर्णालीमा सडक बन्द हुनु सामान्य समाचारजस्तो लाग्न सक्छ।
तर त्यो सामान्य होइन।
मुगुमा २०२६ को वर्षायाममा सडक लामो समय अवरुद्ध हुँदा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको अभाव, इन्धन संकट र स्याउ बाटोमै कुहिने अवस्था आएको समाचारले देखाएको थियो।
यहाँ ठूलो भवन नढले पनि विपद् भयो।
धेरै मानिस नमरे पनि विपद् भयो।
सम्पर्क टुट्नु आफैँमा विपद् बन्यो।
कर्णालीमा सडक केवल सडक होइन।
त्यो अस्पताल हो।
त्यो बजार हो।
त्यो औषधि हो।
त्यो खाद्यान्न हो।
त्यो आयआर्जन हो।
त्यो प्रशासनसँगको सम्बन्ध हो।
त्यसैले कर्णालीको लचकताको कुरा गर्दा बलियो घर मात्र पर्याप्त छैन।
बलियो सम्पर्क प्रणाली पनि चाहिन्छ।
विश्व बैंकले पनि जलवायु तथा विपद् जोखिमलाई सडकको योजना, छनोट, डिजाइन, निर्माण र मर्मतमा एकीकृत गर्नुपर्ने कुरा जोडेको छ।
जोखिमको स्मृति पनि एउटा पूर्वाधार हो
सायद हाम्रो पुस्ताको सबैभन्दा महत्त्वपूर्ण काम यही हुन सक्छ।
गाउँका वृद्धसँग बसौँ।
सोधौँ—
पहिरो कहाँ गयो?
पुरानो खोला कहाँ बग्थ्यो?
कुन ठाउँमा पानी जम्थ्यो?
कुन वर्ष ठूलो बाढी आयो?
कुन ठाउँमा पहिले घर थिएन?
गाउँ किन झुरुप्प थियो?
किन खेतको बीचमा घर बनाइँदैनथ्यो?
कुन बाटो वर्षामा बन्द हुन्थ्यो?
कुन परिवारले पहिले नै घर सारेको थियो?
यी प्रश्न केवल सम्झनाका प्रश्न होइनन्।
यी जोखिम अभिलेख हुन्।
दक्षिणी हुम्लामा समुदायले जोखिमको नक्सा आफैँ बनाउन सक्ने अभ्यास भइसकेको थियो। आज त्यही काम अझ वैज्ञानिक ढंगले गर्न सकिन्छ।
स्थानीय स्मृतिलाई भौगोलिक नक्सामा राख्न सकिन्छ।
पुरानो पहिरोको स्थान अभिलेख गर्न सकिन्छ।
पुरानो खोलाको बाटो देखाउन सकिन्छ।
पुरानो बस्तीको संरचना सुरक्षित राख्न सकिन्छ।
पुरानो सडक र नयाँ सडक तुलना गर्न सकिन्छ।
त्यसपछि हामीसँग एउटा नयाँ प्रकारको नक्सा हुनेछ—
भूगोलको मात्र होइन, स्मृतिको पनि नक्सा।
नक्सा बनाउने होइन, नक्साबाट निर्णय गर्ने
आज हामीसँग उपग्रह चित्र छन्।
भौगोलिक नक्सा छन्।
भू–उचाइका तथ्यांक छन्।
वर्षामापन छ।
पूर्वसूचना प्रणाली छ।
ड्रोन छन्।
मोबाइल छन्।
कृत्रिम बुद्धिमत्ता पनि छ।
तर प्रश्न प्रविधि छ कि छैन भन्ने होइन।
प्रश्न हो—
निर्णयमा यसको प्रयोग भयो कि भएन?
जोखिमको नक्सा बनायौँ।
तर त्यही ठाउँमा घर बनायौँ भने नक्साको अर्थ के?
पहिरोको इतिहास थाहा थियो।
तर उही ठाउँमा फेरि त्यही ढलान काट्यौँ भने अध्ययनको अर्थ के?
पूर्वसूचना आयो।
तर मानिससम्म पुगेन भने प्रणालीको अर्थ के?
जोखिमको तथ्यांक राख्यौँ।
तर अर्को आयोजना बनाउँदा प्रयोग गरेनौँ भने अभिलेखको अर्थ के?
नक्सा आफैँ समाधान होइन।
नक्साबाट हुने सही निर्णय समाधान हो।
कर्णालीका लागि नयाँ विकास दर्शन चाहिन्छ
कर्णालीलाई अब केवल “विपद् प्रभावित क्षेत्र” भनेर हेर्नु पर्याप्त छैन।
कर्णालीलाई जोखिम–सचेत विकास क्षेत्र का रूपमा हेर्नुपर्छ।
सडक बनाऊ।
तर भूगोल बुझेर।
घर बनाऊ।
तर जमिनको उपयुक्तता जाँचेर।
विद्यालय बनाऊ।
तर सुरक्षित खुला ठाउँ र आपत्कालीन निकाससहित।
स्वास्थ्यचौकी बनाऊ।
तर विपद्को समयमा पनि पुग्न सकिने गरी।
बस्ती विस्तार गर।
तर पानीको निकास, कृषि भूमि र ढलान बुझेर।
कृषि गर।
तर पानीको दीर्घकालीन सुरक्षा सोचेर।
पुल बनाऊ।
तर भविष्यको बाढी सम्झेर।
पहाड काट।
तर काटिएको माटो र ढुंगा कहाँ जाने हो भनेर पहिले सोचेर।
र सबैभन्दा महत्त्वपूर्ण—
स्थानीय मानिसलाई जोखिमको सूचना पाउने व्यक्ति मात्र होइन, जोखिमसम्बन्धी ज्ञानको स्रोत पनि मान।
विकासको सबैभन्दा कठिन प्रश्न
हामीले धेरै वर्षसम्म सोध्यौँ—
“कर्णालीमा विकास कहिले पुग्छ?”
अब अर्को प्रश्न सोध्नुपर्छ—
“कर्णालीमा कस्तो विकास पुग्छ?”
सडक पुग्यो।
भवन पुग्यो।
बजार पुग्यो।
सिमेन्ट पुग्यो।
प्रविधि पुग्यो।
तर यदि विकाससँगै जोखिम पनि बढ्यो भने?
यदि कृषि भूमि हरायो भने?
यदि खोलाको प्राकृतिक बहाव साँघुरियो भने?
यदि सडकले पहाड अस्थिर बनायो भने?
यदि नयाँ बस्ती जोखिमयुक्त क्षेत्रमा फैलियो भने?
त्यसैले विकासको प्रत्येक निर्णयमा एउटा प्रश्न राख्नुपर्छ—
“यसले भोलिको जोखिम घटाउँछ कि बढाउँछ?”
यो प्रश्न योजना बनिसकेपछि होइन।
योजना बनाउनुअघि सोधिनुपर्छ।
अन्तिम कुरा
हामी वास्तवमा जोखिमसँगै हुर्किएका मानिस हौँ।
हाम्रो पुस्ताका धेरै मानिसले जोखिमलाई देखेर पनि नदेखेजस्तो गर्न सिके।
त्यो कायरता थिएन।
सायद त्यो बाँच्ने तरिका थियो।
किनकि प्रत्येक पाइला डराएर चाल्न थालेको भए जीवन नै चल्दैनथ्यो।
तर समय बदलिएको छ।
हिजो जोखिमसँग जुध्नु पर्याप्त थियो।
आज जोखिम बुझ्नु पनि आवश्यक छ।
हिजो बाढी आयो भने माथि भाग्नु उपाय थियो।
आज बाढी कहाँ आउन सक्छ भनेर पहिले नै नक्सा बनाउन सकिन्छ।
हिजो पहिरो गएपछि बाटो खोलिन्थ्यो।
आज कुन ढलान अस्थिर हुन सक्छ भनेर पहिले नै अध्ययन गर्न सकिन्छ।
हिजो घर पुर्खाले रोजेको ठाउँमा बनाइन्थ्यो।
आज त्यही ठाउँलाई भूगर्भीय, जलवैज्ञानिक र भूकम्पीय प्रमाणबाट परीक्षण गर्न सकिन्छ।
हिजो अनुभव पुस्ताबाट पुस्तामा मौखिक रूपमा सर्थ्यो।
आज त्यसलाई अभिलेख गर्न सकिन्छ।
हिजो गाउँको जोखिम गाउँभित्रै सीमितजस्तो लाग्थ्यो।
आज एउटा नदीको बाढीले सडक, पुल, ऊर्जा, बजार र सयौँ किलोमिटर टाढाको दैनिकीसमेत प्रभावित गर्न सक्छ।
भोटेकोशीले हामीलाई यही सम्झाएको छ।
तिला र हुम्लाका घटनाले पनि यही सम्झाएका छन्।
मुगुको सडकले यही सम्झाएको छ।
कालिकोटको दोहोरिँदो पहिरोले यही सम्झाएको छ।
र दक्षिणी हुम्लाको २०१० को अध्ययनले पनि धेरै अगाडि यही कुरा भनिसकेको थियो।
जोखिम हराएको थिएन।
हामीले मात्रै कहिलेकाहीँ त्यसलाई देखेनौँ।
अब त्यसलाई देख्ने समय आएको छ।
जोखिमको स्मृति बचाउने।
जोखिमको नक्सा बनाउने।
जोखिमको तथ्यांक राख्ने।
स्थानीय ज्ञान सुन्ने।
विज्ञानसँग जाँच्ने।
इन्जिनियरिङसँग जोड्ने।
स्थानिक योजनामा उतार्ने।
र विकासको हरेक निर्णयअघि एउटा प्रश्न सोध्ने—
हामी समाधान बनाउँदैछौँ कि भोलिको समस्या?
कर्णालीका बस्तीहरू बदलिएका छन्।
बदलिनैपर्छ।
तर परिवर्तनको दिशा महत्त्वपूर्ण छ।
सडक आउनु विकास हो।
तर सडकले पहिरो निम्त्यायो भने त्यो अधुरो विकास हो।
सिमेन्टको घर आउनु परिवर्तन हो।
तर त्यही घर जोखिमयुक्त ठाउँमा बन्यो भने त्यो सुरक्षित परिवर्तन होइन।
बजार विस्तार हुनु अवसर हो।
तर त्यससँगै कृषि भूमि, पानीको प्राकृतिक बाटो र खुला ठाउँ हरायो भने त्यो दीर्घकालीन समृद्धि होइन।
त्यसैले कर्णालीको प्रश्न अब केवल—
“कति विकास भयो?”
भन्ने होइन।
“कस्तो विकास भयो?”
अनि अझ गहिरो—
“भोलिको जोखिम घटाउने गरी विकास भयो कि आजको सुविधा बढाउने गरी मात्र?”
हाम्रा पुर्खा जोखिमबाट अनभिज्ञ थिएनन्।
उनीहरूसँग आफ्नै भाषा थियो।
आफ्नै स्मृति थियो।
आफ्नै भूगोल बुझ्ने तरिका थियो।
तर त्यो ज्ञान धेरै हदसम्म जीवनमै सीमित रह्यो।
अब हाम्रो जिम्मेवारी उनीहरूले अनुभवबाट सिकेको कुरा प्रमाण, विज्ञान र संस्थागत अभ्यासमा रूपान्तरण गर्नु हो।
न पुरानो ज्ञानलाई अन्धविश्वास भनेर फाल्ने।
न आधुनिक विज्ञानलाई सर्वज्ञ ठान्ने।
बरु दुवैलाई एउटै टेबलमा राख्ने।
पुर्खाको स्मृति।
भुइँमान्छेको अनुभव।
किसानको मौसम ज्ञान।
महिलाको पानीसँगको अनुभव।
बालबालिकाको विद्यालयसम्मको बाटो।
अपाङ्गता भएका मानिसको गतिशीलताको अनुभव।
इन्जिनियरको गणना।
भूगर्भशास्त्रीको अध्ययन।
जलविज्ञानीको तथ्यांक।
र योजनाकारको स्थानिक विश्लेषण।
यी सबैलाई जोडेर मात्र सुरक्षित भूगोल बन्न सक्छ।
किनकि अन्ततः—
विपद् रोक्न नसकिएला।
तर विपद्लाई विपत्ति बन्न नदिने काम धेरै हदसम्म मानिसकै हातमा हुन्छ।
हामीले पुस्तौँदेखि जोखिमसँग बाँच्न सिक्यौँ।
अब आउने पुस्तालाई जोखिम बुझेर, जोखिम घटाएर र जोखिमसँग बुद्धिमानीपूर्वक बाँच्न सक्ने समाज हस्तान्तरण गर्ने समय आएको छ।
सायद कर्णालीको सबैभन्दा ठूलो विकास यही हुनेछ।
सडक मात्र कर्णाली पुग्नु होइन—
सुरक्षित विकासको सोच कर्णाली पुग्नु।

Comments
Post a Comment