जन्मदिन !!!

 जन्मदिन !!!

गन्तव्य कता हो कता
देखिएकै छैन,
तर पनि यात्राको गोरेटोमा
आज फेरि
थप एक पाइलो अगाडि सर्यो !
वसन्तको हरियाली देखि शिशिरको पतझर सम्म
पालैपालो घुमिरहने याम हो जीवनको जङ्गल,
च्याउ उम्रीएको बूढो रुखमा
आजै एउटा नयाँ पालुवा पलायो !
संघर्ष नै जीवन या भनौं जीवन नै संघर्ष
जहाँ पाइला पाइलामा
सयौं चुनौती आइरहन्छन् !
नटुङ्गिने विरानो यात्रामा हिडेपछि
अलिकती नयाँ बाटो आफैले कोतर्नु नै पर्ने,
अलिकती आफ्नो आफैले औजार तिखार्नु नै पर्ने,
अलिकती 'सामल र पानी' को जोहो गर्नु नै पर्ने !
एकछिन दौड्यो,
एकछिन थकाई मार्यो,
फेरि एकछिनपछि लुखुरलुखुर हिड्नु नै पर्ने !
मनमा
एकातिर चन्द्रमा छुने चाह,
अर्कोतिर धरतीको धुलो बनेको आह !
जहाँ जे भए पनि,
जहाँ जे बने पनि,
आमाको काख जति अरु केही नहुने !
जन्मेको धरती सरि अरु केहीले नछुने !
यस्सै भनेनन् होला
'जननी जन्मभुमिश्च स्वर्गादपी गरियसी' !
विहानै चिसो सिरेटोले कान सेक्दै
बाबाले बोलाएको मीठो आवाज ल्याईपुर्यायो,
'बाबु कति सुत्छौ अझै? अब त उठ्न पर्यो'!
आमाले टाउको मुसार्दै गर्दाको
न्यानो स्पर्शले झसङ्ग ब्युझिएर हेर्दा
भित्ताबाट आमाको तस्बीर पो झर्यो !
भित्तेपात्रो भने पर पर सर्यो !
धमिलो आँखाले च्याउदा पो थाहा भयो
आच्या, आज त आफ्नै जन्मदिन पो पर्यो !!
आमा विनाको यो पहिलो जन्मदिन,
आमाकै अभावमा चिसो र कालो रातसरी बन्यो !
हरपल आमाकै ममता, मातृत्व, संघर्ष,
आशिर्वाद र सकारात्मक सोचबाट सिक्दै
जीवन त जीउनै पर्यो !!
जन्मदिनको अवसरमा
प्रेम, स्नेह, आशिर्वाद र सकारात्मक शक्ति प्रदान गर्ने सम्पुर्णमा सादर नमन !!!
यस्तै गरी असल मानिस बन्ने प्रेरणा मिलिरहोस,
कोसिस जारी नै छ, जारी नै रहने छ !!!

Comments

Popular posts from this blog

Transforming Inequalities: Role of Civil Society as a Knowledge Society