बहिनी बन्दनाको जन्मदिन
मलाई याद छ,
तिमी जन्मिनु अघि हाम्रो घरमा लक्ष्मीको बास थिएन!
हाम्रा निधार रित्ता रित्ता हुन्थे!
आमाले भनेको सम्झना छ,
एउटा छोरी नभएर घर नै अँध्यारो भयो!
छोराहरूको निधार खाली भयो!
एउटा छोरी चाहियो!
आमा सुत्केरी हुनेबेलाको मलाई धमिलो सम्झना छ!
अस्पताल जाने/लाने खासै चलन त थिएन!
तैपनि आवश्यक परे लाने भनेर मान्छे तयार थिए!
घरैमा तालिम प्राप्त सुडेनीले सुत्केरी गराउने कुरो भयो!
गाउकै तालिम प्राप्त सुडेनीले सहजरूप काम फत्ते गरेपछी
आजकै दिन बिहान तिम्रो यस धरतीमा आगमन भयो!
अहिले जस्तो जन्मनु अघि नै छोरा कि छोरी भनेर
न थाहा पाउन सकिन्थ्यो न त्यसो गर्न पाइन्थ्यो!
तर भाग्यले छोरी नै भयो! परिवारमा हर्ष छायो!
नाम के राख्ने भनेर घरमा सल्लाह हुन थाल्यो!
ज्योतिषीले जे राखे पनि
हामीले (मैले) बन्दना नै राख्ने निर्णय गर्यौँ!
बन्दना यस अर्थमा कि
तिम्रो आगमनको लागि सबै परिवारले
बन्दना (प्रार्थना) गरेका थिए!
त्यो दिन देखि हाम्रो परिवारमा
धेरै फलिफाप भएको छ!
सबैको उन्नति र प्रगती भएको छ!
दुई छोरा र एक छोरी सहित
मातापिता पनि
संसारकै सबैभन्दा खुशी हुनुहुन्थ्यो!
बन्दना गरेरै प्राप्त गरेर होला,
आजसम्म छोराछोरी भनेर
आजसम्म कुनै विभेद भएन हाम्रो परिवारमा
(कम्तिमा म अहिले त्यत्ती दाबी गर्न सक्छु)
किनकि कतै कुनै केही विषय पनि,
कुनै अवसर पनि र कुनै काम पनि
कसैका लागि विशेष भनिएन!
कसैका कुनै केही आकाङ्क्षा र सपना पनि
अधुरा रहने वातावरण पितामाताले दिनुभएन!
सबैको सम्मान र समानता
हामीले घरबाटै सिक्ने मौका पायौं!
त्यो सबै तिम्रै आगमनले मात्र संभव भएको हो
अहिले त झन तिमिले बहिनी मात्रै होइन
एक आदर्श बुहारी, श्रीमती र आमा सहित
उत्तम व्यक्तिको रुपमा तिमी छौ! भलै उमेरले म ठूलो हुँला तर
संस्कार, संस्कृति, लगनशीलता, व्यवहार, समाज र कामको
उचित व्यवस्थापनमा तिमी मेरो पनि आदर्श हौ!
अब त आमाको महाप्रस्थान पछि,
तिमीलाई नै आमाको रुप मानेको छु!
यस अर्थमा मेरो अभिभावक पनि!
तिम्रो उन्नति प्रगती अझ भैरहोस!
सुख शान्ती र सुस्वास्थ्य सहित दीर्घजीवनको कामना छ!
सल्ला जुन सुसाया, दुबा जुन जेडिया, पाथा जुन भरिया!
Comments
Post a Comment