त्यो कर्णाली, यो कर्णाली र भविष्यको कर्णालीः के हो विकास र योजनाको मियो?
त्यो कर्णाली, यो कर्णाली र भविष्यको कर्णालीः के हो विकास र योजनाको मियो? त्यो कर्णालीः स्वशासित हुँदासम्मको कर्णाली क्षेत्रको गौरवमय इतिहास धेरैहदसम्म लिपिबद्ध नभएता पनि, उपलब्ध दस्ताबेजहरुले त्यो बेलाको खस राज्यको समृद्धि र राजनीतिक तागत कति थियो भन्ने कुरो छिपेको छैन। १२ औं शताब्दीमा भौगोलिक रुपमा तिब्बत देखि गढवालसम्मको फैलावट मात्रै होइन, पर्वतीय क्षेत्रहरुमा भएको विकसित अब्बल नमुना राज्य, विस्तारै भाइभारदारहरुकै कचिङ्गलको फलस्वरुप टुक्रिदै गएर १८ औं शताब्दीसम्म आइपुग्दा कमजोर भै नेपाल एकीकरण हुँदाको समयपछि आफ्नो शासन आफै गर्ने अधिकार गुमाएको इतिहास छ। राजकाज, बन्द व्यापार, युद्ध कौशल, र धनसम्पत्तिले भरिपूर्ण त्यो बेलाको खसराज्यले निर्माण गरेका वैभवशाली भौतिक तथा सामाजिक संरचनाहरु स्वशासनको अधिकार गुमाएपछि दुरदराजको केन्द्रिकृत शासन पद्धतिबाट हुने उपेक्षाको शुरुवातसँगै यो क्षेत्रको अधोगति शुरु भएको मानिन्छ। २१ औं शताब्दिसम्म आइपुग्दा त रोग, भोक र शोक, गरिबी, अशिक्षा र पछौटेपनको द्योतकको रुपमा कर्णाली बन्दै र बनाइदै गयो। ऐतिहासिक उत्पीडनमा परेको यो क्षेत्रल...