माताजीको श्राद्ध तिथि 2081

 आज आश्विन कृष्ण चतुर्दशी

अर्थात माताजीको श्राद्ध तिथि!
माताजी कोरोनाको कहरको माझमा
ब्रम्हलिन हुनुभएको थियो!
मेरो कर्मको फल भन्ने कि भाग्य भन्ने
मैले अन्तिम समयमा
माताजीको मुख सम्म पनि हेर्न पाइन!
परदेश मै बसेर गर्नुपर्ने कर्म गरियो!
गत महिना नेपाल गएको बेलामा
मुक्तिनाथ पुग्नुअघि कागबेनीमा
माताजी को सम्झनामा
माताजी कै नाममा तर्पण दिने काम गरियो!
माता बिनाको घर कस्तो हुन्छ
भनेर कसैले सोध्यो भने
अहिले ठ्याक्कै आफ्नै घरको सम्झना हुन्छ!
यसपल्ट धेरै समयपछि घर गैयो,
तर माताजी नहुँदा घर पुगेकै अनुभुति भएन!
माताजीको बोलीले पछ्याईरह्यो!
उहाँको हाँसो अनि उहाँको डाकोले
बोलाईरह्यो!
उहाँले दाउरा घाँस गर्ने जङगल,
उहाँले खेतिपाती गर्ने खेतबारी,
बिस्कुन सुकाउने आँगन,
खाना बनाउने अनि सबै परिवारले सङै खाने भान्सा,
खानेपानी बोक्न दुख भयो भनेर घरैमा जोडेको धारो,
गाउँमै पहिलोपल्ट बनाएको चर्पी ,
जौँ गहुँ,सिमिकोदो भट्ट्,फापर सुकाउने र चुट्ने थाडो,
धान थन्क्याउन भनेर उहाँले नै बनाउनु भएका माटोमा ढरा र भकारी, दैनन्दिन रातोमाटो ले लिपिने दैलो,
सब बिराना बिराना भएछन्।
घरमा उहाँको स्मृति मात्रै छन्,
केवल स्मृति !
माताजीको प्राण सङै
तिनको पनि प्राण गएछ!
बचेका केहि सम्झना पनि थलापरेका छन्!
जुम्ला यात्राको पहिलो दिन
राति ११ बजे घर पुगियो!
जब गाडिले घर अगाडि बाटोमा हामीलाई ओराल्यो,
कानमा सुस्तरी माताजीको बोलीमा हावा फुस्फुसायो!
हल्का उकालो चढेर खोला तरी आँगन छिर्नेबेलामा भने
माताजी जस्तो छाया कुरीबसेको थियो!
मन भारी बनाएर दैलो भित्र छिरियो,
भान्सा कोठामा छिरेपछि माताको यादले अति सतायो!
उहाँ बिनाको भान्सा रित्तो रित्तो अनि निस्पट्ट अन्धकार!
मेरो बोली फुटेन, दिमागले काम गरेन!
अघि सम्मको उर्जा सब हरायो,
म त थाकेर बेकामे बनेको जस्तो भयो,
न भोक न प्यास
न कुनै पारिवरिक मिलनको खुसी
न त कुनै अरु उत्साह!
यता उता भित्तातिर
चारैतिर आखा दौड्यो,
माताजी लाई कतै नदेखेपछि
न्यास्रोले गह भरिएर आयो,
गला अवरुद्ध भयो!
माताजीको झल्को मेटाउन
उतिबेलै बहिनिलाई भिडियो कल गरे!
नदेखिनेगरी आँशु बगाएँ!
सबै सुनाई मन हलुको बनाएँ!
माता बिनाको घर खण्डहर नै हुने रहेछ!
अब यो जुनी त यस्तै रहेछ
स्मृती नै स्मृतीमा जिउने बाध्यता छ!
यदि मिल्छ भने
आउने सयौँ जुनी हजुरकै सन्तान बन्न पाउँ!
हजुरकै सेवा गर्न पाउँ!



Comments

Popular posts from this blog

कसरी फेरिँदैछन् कर्णालीका बस्तीहरू? इतिहासदेखि वर्तमानसम्म !

Spatial Planning Practices in Nepal – A Rural and Regional Perspective

वर्लिन घुमेपछिको अनुभूति: शहरले मानव, प्रकृति, प्रविधि त्रिपक्षीय सहजीवन दिनै पर्ने रहेछ!